काठमाडौं । प्रधानमन्त्री केपी ओली पछिल्लो समय लोकप्रियता कमाउने नाममा जे पनि गर्न तयार देखिएका छन् । विगतमा सरकारले नै काटेका सार्वजनिक बिदा अहिले ओली सरकारले थपेको थपै छ ।
धेरै दिन सार्वजनिक बिदा हुँदा अर्थतन्त्रमा त्यसको असर पर्ने भन्दै तीन वर्षअघि बिदा कटौती गरिएको थियो । तर ओली नेतृत्वको सरकार बनेलगत्तै चाडपर्वका बिदा कटौती गरिएकोमा फेरि थप्न थालिएको छ ।
सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।
आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।
अब ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको बुझिएको छ ।




