रिबन

सत्ता टिकाउन सांसदलाई कारबाहीको धम्की

आजका पत्रपत्रिकामा भारतमा ४० वर्ष विना सुनुवाई जेल बसेका दुर्गा प्रसाद तिम्सिना नेपाल फर्किएर पारिवारिक मिलन गरेको तस्वीरसहितका समाचार छन् भने अन्य राजनितिक विषयवस्तुले पनि स्थान पाएका छन् ।
दुर्गाप्रसादको परिवारको तस्वीर छापेको नागरिक दैनिकले ओली आतंक शिर्षकमा मुख्य खबर छापेको छ । सत्ता टिकाउन ओलीले सांसदलाई कारबाहीको धम्की दिएको समाचारमा उल्लेख छ । सोही समाचार भित्र नेता नेपाललाई एक्ल्याउने रणनिति शिर्षकमा समाचार छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् ।

भारतमा संक्रमण तीव्र, नेपालमा उच्च जोखिम शिर्षकमा अर्को खबर छ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

राजधानी दैनिकले राजनीतिक खिचातानीले थलिँदै लोकसेवा आयोग,लोक सेवा आयोगका सबै काम ठप्प, परीक्षा र नतिजा रोकिने शिर्षकमा मुख्य खबर छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो राजनीतिक खिचातानीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउन सकेका छैनन् । जसका कारण लोकसेवा आयोगको पदाधिकारी सिफारिस र नियुक्ति प्रक्रिया अवरुद्ध बनेको छ ।

आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि यही १० चैत्रदेखि सकिँदै छ । पदाधिकारी समयमा सिmफारिस र नियुक्ति हुन नसक्दा आगामी ११ चैत्रदेखि लोकसेवा आयोगका सबै काम ठप्प हुनेछन् । आयोगद्वारा सञ्चालन हुने परीक्षा तथा नतिजाका सबै काम रोकिनेछन् । यस्तै, सरकारी निकायमा रिक्त रहने स्थानमा नयाँ कर्मचारी पदपूर्ति गर्ने प्रक्रियासमेत अवरुद्ध बन्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *