काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएदेखिनै शक्तिको केन्द्रीकृत गर्दै ल्याएका थिए । सरकारी निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर अन्य मन्त्रीहरुको अधिकार खोसेका ओली शनिवारको केन्द्रीय बैठकबाट पार्टीमा विधिवत रुपमै झन शक्तिशाली भएका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओली झन् शक्तिशाली भएपछि आफ्ना विरोधिहरुलाई डण्डा बर्षाउन थालेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेपछि उनले पार्टीभित्रका विरोधिलाई डण्डा बर्षाउन थालेका हुन् । एमाले संसदीय दलको केही दिन अघि बसेको बैठकले प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको विधान संशोधन कमिटी बनाएको थियो । उक्त कमिटीले बनाएको विधान संशोधन प्रस्ताव शनिबारको बैठकमा प्रस्तुत गरिएको थियो । सो विधानलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेसँगै ओली थप शक्तिशाली बनेका हुन् ।
केन्द्रीय कमिटीले विधान अनुमोदन गरेपछि अब समानुपातिक सांसद हटाउनेदेखि केन्द्रीय कमिटी हेरफेर गर्नेसम्मको अधिकार पार्टी अध्यक्षले नै पाउने भएका छन् । तर निर्वाचन आयोगमा बुझाएको सूचीमा भने परिवर्तन गर्न पाइने छैन । त्यस्तै बैठकले एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । विद्यमान दुई सय ६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको हो । बैठकले पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक समितिको क्रमशः अध्यक्ष तथा महासचिव रहने निर्णयसमेत गरेको छ । त्यस्तै बैठकले १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गते सम्म गर्ने निर्णय समेत गरेको छ । यसैगरी बैठकले संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्र्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी दिएको छ । बैठकले महाधिवेशन आयोजक कमिटिका बैठकहरुको माइन्युट गर्ने जिम्मेवारी विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले तीन वर्ष अघि नै सरकारको नेतृतव सम्हाल्दा महत्वपूर्ण निकायहरुलाई आफ्नो मातहत ल्याएर शक्तिशाली बनेका थिए । उनले नेतृत्व सम्हाल्दा नै राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र लगायत महत्वपूर्ण निकायहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएका थिए । तर पछिल्लो समय त रक्षामन्त्रीलाई हटाएर आफै कार्यभार सम्हालेका छन् । गृहमन्त्रालय र अर्थमन्त्रालय आफ्नो मातहत ल्याएर तीन वर्ष अघि नै आफ्नो पक्षमा शक्ति केन्द्रित गरेका ओलीले अहिले पार्टी भित्र पनि आफ्नो पक्षमा शक्ति केन्द्रित गरेका हुन् ।
बैठकले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पार्टी विपरीतका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पार्टी विपरीतका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । त्यसअघि नेतृ राकुमारी झाक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेपनि उनको वेट नपुगेका कारण उनी स्पष्टीकरणबाट जोगिएकी छिन् । बैठकमा ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ नपुगेको बताएका थिए ।




