काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै होसियार हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको हिजोको कदम तर्फ इंगित गर्दै उनको यस्तो प्रतिक्रिया आएको हो । ओलीको नाम नलिएरै उनले लेखेका छन्, उसले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर सबैमाथि खड्ग चलाउँदै छ होसियार ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ।।।अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!
नेकपा एमालेमा यतिबेला सबै अधिकार अध्यक्ष ओलीमा केन्द्रीत गरिएको छ । शनिबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले केन्द्र र प्रदेशसभाका समानुपातिक सांसदको बन्दसूची एक्लै हेरफेर गर्नेसम्मका अधिकार पाएका छन् । ओलीले आफूलाई छोडेर विरोध गर्दै हिडेका माधवकुमार नेपाललगाएतको समूहलाई लक्षित गर्दै कारबाही गर्न एकलौटी अधिकार हात लिएर सर्वशक्तिमान अध्यक्ष भएका छन् ।




