कला/साहित्य

सेडोका कविता

१,
सर्लक्क आटेँ
गन्तव्य पूरा गर्न
दौडिएछ समय ।
व्यर्थको दु:ख ।
सपना चुम्नलाई
घिसारेको जीवन ।
२,
अल्लारे मन
चोखो माया लिएर
पर्खिबसेँ अल्झेर ।
विश्वास गर्दा
धोका थुप्रिएर
नाङ्गो बनेको मन ।
३,
कालो समय
आफैँलाई जलाई
उज्यालो छरिएको ।
क्षणिक खुसी
पीडाको वेदनाले
छिया परेको मुटु ।
४,
चिसो सिरेटो
खोजेको निदाउन
तर्सेको सपनाले ।
टोलायो आँखा
मनमा कुरा खेल्दा
निद्रा भागेको रात ।
५,
संयोग बन्यो
तिम्रो मेरो मिलन
साइनो फुटेको सिसा ।
विगत सम्झेँ
भक्कानिँदै रोएको
आँसु बन्यो मित्रता ।
६,
नतोड आफैँ
जोडेको विश्वास्मा
भुसको आगो बाल्दै ।
मिलेर बस्दा
बाँचेको जीवनमा
खुसियाली फैलेको ।
७,
बुढ्यौली मन
डाँडामथिको घाम
दिन गन्दै बसेको ।
खुसी मनले
आनन्द लुट्दै हिँड्दा
दौडिएको समय ।
८,
माया पराइ
विवाहको मण्डप
फर्किएँ रित्तो हात ।
खल्लो मनमा
भुइँचालो बनेर
होस गुमेको आँखा ।
९,
नसामा मस्त
जीवन नबुझ्दामा
गल्ति नै अभिशाप ।
कुलत छाडौँ
खुसी अँगाल्दै जिऔँ
दुई दिने जिन्दगी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *