बिहान झुल्केदेखि नअस्ताउन्जेल
दिनले त बरु
प्रकाश जोडेर जाँदो रहेछ !
तर, जन्मेदेखि नमरुन्जेल सम्म
एउटा सन्त्रास ओडेर घुम्दो रहेछ – मान्छे ।
जुगानुजुग बाँच्न पाउने आशा भरोसामा
मृत्युको लकेट झुन्ड्याएर आएको अनुभूतिमा
मन्त्रहीन माला जपेर बाँच्तो रहेछ – मान्छे ।
दीर्घायुका जुक्ति र चेष्टाहरू रच्तो रहेछ
अपूर्व सुख्ख सौभाग्य सजाउने चाहनामा
नितान्त कष्टप्रद क्षण सल्टाउने बहानामा
हरेक दिनका पत्रहरू
पुस्तक ठानेर पल्टाउँदो रहेछ -मान्छे ,
असन्तुष्टिको पोको लिएर सुस्ताउँदो रहेछ मान्छे ।
कामकै हतारोमा र दामकै चटारोमा
निमेषभर बेफुर्सदको जोतारो भएर
अस्ताउँदो रहेछ –मान्छे ।
०…………………०………………….०
हो, सास बिसाउन नपाए झैँ
रिले दौडमा छ ऊ
र, बाजी मार्ने दौडधुपमा छ ऊ,
सायद, बोल्नसम्म नभ्याएर कोहीसँग
रङ्गशालाको वृत्तमा बेगिएको छ ऊ
अविरल अविरल गतिमा
औडाहा बनेको छ ऊ
दौडाहा बनेको छ ऊ
हो, गन्तव्यमा पुगेपछि
सारा पसिना पुछ्ने दाउमा छ ऊ ।
०……………….०…………………०
आधा खाएर दौडिएको रहेछ – मान्छे
आधा निंदाएर ननिंदाएको रहेछ –मान्छे,
अँध्यारो जीवनको नीरसतामा
खण्डहर खण्डहर बनेर अपूर्णतामा
कुहिराको काग जस्तै हराएको हुँदो रहेछ -मान्छे ।
०……………………०……………………….०
कसैको खटनपटनमा
मौलाएको जिन्दगी यो
खिन्नताको अवशेषमा
साँच्चिकै अनित्य र परित्यक्त बन्छ ।
०…………………०………………..०
मादी, संखुवासभा
हालः भक्तपुर,लोकन्थली




