राजनीति

पुनर्स्थापित संसदले राम्रो संकेत देखाएनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सर्वोच्च अदालतको दुवै फैसलामा सरकार हारे पनि लड्डु खाने र झोक्रिएर बस्ने कार्य नगरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । सर्वोच्चका फैसलाप्रति प्रचण्ड–माधव समूहले देखाएको भावप्रति कटाक्ष गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा भने, ‘सरकार सर्वोच्चको फैसला आउँदा न लड्डु खाएर बस्छ न त झोक्राएर नै बस्छ । सर्वोच्चको फैसलाअनुसार अघि बढ्नु हाम्रो दायित्व हो ।’

परराष्ट्रमन्त्री ज्ञवालीले पुनर्स्थापित संसदले सुरुवातमै राम्रो संकेत नदेखाएको बताए । उनले संसद नबसेको बेला सरकारले ल्याएको अध्यादेशलाई संसदको पहिलो बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्थालाई लागू गर्न नदिएको उल्लेख गरे ।

एसिड आक्रमण विरुद्ध, यौन हिंसा विरुद्ध कडा कारवाही गर्न व्यवस्था गरिएको अध्यादेश अगाडि बढाउन नदिएको दावी गरे । यसबारे गम्भीर समीक्षा गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै उनले सरकारले मेलम्चीको पानी काठमाडौं ल्याएको, तराईमा सिचाइँका लागि मरिन डाइभर्सनको उद्घाटन गरेको, माथिल्लो तामाकोसी आयोजना पूरा हुन लागेको, सगरमाथाको उचाई आफ्नै पौरखले नाप्न सफल भएको, नागढुङ्गा थानकोट सुरुङमार्ग निर्माण द्रुतगतिमा निर्माण भइरहेको दावी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *