काठमाडौं । एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।
बिहीबार बिहान सानेपास्थित हेरिटेज गार्डेनमा भएको छलफलपछि सो समूहका सांसदहरु ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय भएको हो ।
स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो । छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् । ‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।
यस्तै, एमाले उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा नजाने भएका छन्। गौतमलाई बैठकमा सहभागी हुन मुख्य सचेतक विशाल भट्टराईले फोन गरेका थिए । तर, जवाफमा नेता गौतमले आफू नआउने बताएको स्रोतले बतायो ।




