काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली धोकेबाज र कम्युनिस्ट आन्दोलन समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएका छन् । पार्टी विग्रहको जिम्मेवार ओली नै भएको उनको भनाइ छ । ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले भने।
ओलीको चिन्तनबारे पार्टीका नेताहरूलाई जानकारी भएको पनि उनले बताए। ‘उहाँको चिन्तन, व्यवस्था र कार्यशैली कस्तो छ भन्ने नेताहरूलाई थाहा छ,’ उनले भने। उनले आफूहरूको लडाइँ पदका लागि नभएको पनि दाबी गरेका छन्।
हिजो पार्टी एकता गर्दा पनि कसैलाई नसोधी ओलीले गरेको, पार्टी अध्यक्षले पालैपालो अध्यक्षता गर्ने, सरकारको नेतृत्व आधा आधा कार्यकाल गर्ने, खुसुक्क प्रचण्डसँग एकता गरेर पछि ओलीले नै धोका दिएको नेता नेपालले बताएका छन् ।
नेता नेपालले ओली पनि पूर्वएमाले र आफूहरू पनि पूर्वएमाले भएको बताए । उनले फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म सहमति र सहकार्य नहुने उनले स्पष्ट पारे ।




