काठमाडौं । एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा केही समयअघिबाट कार्यकर्ता भेला सुरु भएको हो ।
११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो । कार्यकर्ता भेलाको सञ्चालन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् । कार्यक्रमको अध्यक्षता झलनाथ खनालले गरेका छन् ।
कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट दुई हजारभन्दा बढी कार्यकर्ता उपस्थित भएको नेपाल–खनाल पक्षले जानकारी दिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ । त्यसअन्तर्गत आज र भोलि गरी दुई दिन भेला चल्नेछ । भेलाले एमालेलाई संगठित रूपमा अघि बढाउने जनाइएको छ । ओली पक्षले भने भेलामा जाने नेता कार्यकर्ताले कारबाही गर्ने चेतावनी दिइसकेको छ ।




