समाचार

‘उहाँ’ राष्ट्रको अविभावक हो कि प्रधानमन्त्रीको प्रवक्ता ?’

काठमाडौं । ‘उहाँ’ राष्ट्रको अविभावक हो कि प्रधानमन्त्रीको प्रवक्ता ?’
‘राष्ट्रको सर्वोच्च संस्थाबाट पदीय हैसियतको यति धेरै दुरुपयोग र यति धेरै गुटीय चलखेल अन्यत्र देशमा बिरलै भेटिएला ।’
बुधबार बिहान राजनीतिशास्त्री कृष्ण पोखरेल र एमाले नेता डा. विजय पौडेलले गरेको ट्विट हो यो ।

केही समयअघि नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको सहयोगी जस्तो बनेको भन्दै आपत्ति जनाएका थिए । उनले कांग्रेसले आयोजना गरेका विभिन्न आमसभामा राष्ट्रपति र प्रधानमन्त्रीलाई नहटाएसम्म देशको राजनीति यसरी नै अस्थिर हुने दाबी गरेका थिए ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले खेलेको भूमिकालाई लिएर सर्वत्र आलोचना गरिएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक र त्यहाँ प्रस्तुत उनको विचारलाई लिएर सामाजिक सञ्जालमा अझ धेरै उनको आलोचना र विरोध सुरु गरिएको छ । कतिले त उनलाई महाअभियोग लायक भनेर टिप्पणीसमेत गरेका छन् ।

शीतल निवासको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी ओलीको प्रवक्ता जसरी प्रस्तुत भएको दलका नेताहरूले अनुभव गरेका छन् । उनले ताजा जनादेशमा जान सल्लाह दिनुले प्रधानमन्त्री ओलीकै डिजाइनमा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको प्रस्ट हुन्छ । राष्ट्रपतिले भनेकी थिइन्, दलहरुबीच सहकार्य आवश्यक छ । ताजा जनादेशमा जानु नराम्रो हो र ?

प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नेवित्तिकै राष्ट्रपतिले तुरुन्तै सदर गरिदिइन् । एकचोटि पनि कोहीसँग सल्लाह सुझाव लिइनन् । न त कानुन व्यवसायीसँग नै राय मागिन् । ओलीको कुर्सी डगमगाएपछि उनले सर्वदलीय बैठक राखेर ओलीको कदमको समर्थन गर्न अप्रत्यक्ष दबाब दिएकी छन् ।

सर्वदलीय बैठकमा ओलीले राष्ट्रपतिको आड पाएर प्रतिनिधिसभा र सरकारलाई काम गर्न नदिइएको भन्दै चुनावमा जानुपर्ने बताएका थिए । उनको त्यो प्रस्तावप्रति नेताहरूले आपत्ति जनाएका थिए । ओलीले जुनसुकै बेला प्रतिनिधिसभा भंग हुने घोषणा गरिसकेका छन् । राष्ट्रपतिकै सहयोग पाएर ओलीले यस्ता गतिविधि गरिरहेको जनताले अनुभव गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *