आजका पत्रपत्रिकामा हिजो प्रधानमन्त्रीले आयोजना गरेको चियापानदेखि साँझ राष्ट्रपतिले राखेको सर्वदलीय बैठकसम्मको खबरले पहिलो पेजमा स्थान पाएका छन् । नागरिक दैनिकले राजनितिक संकटको कारकतत्व राष्ट्रपति र प्रधानमन्त्री शिर्षकमा पहिलो पृष्ठमा खबर छापेको छ भने निर्यात उकास्न पूर्वाधार खाँचो शिर्षकमा आवरण कथा छापेको छ । नेपाल अबको पाँच वर्षपछि अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसी ९सिडिपी० ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ।
विकसित मुलुक भएपछि दातृ निकाय र विदेशी मुलुकले दिँदै आएको सहुलियतपूर्ण कर्जा, अनुदान त घट्छ नै, अन्तर्राष्ट्रिय व्यापारमा दिएका सहुलियत र सुविधा पनि कटौती हुनेछन्। विकासशील मुलुक बनेपछि विदेशी सहुलियत र सुविधाबिनाको मुलुकको निर्यात व्यापारको अवस्था कस्तो होला भन्ने टडकारो प्रश्न उठेको छ।
अन्नपूर्ण पोस्ट्ले पनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा भएकै सवालजवाफबारे खबर छापेको छ ।‘संविधानको सीमा नाघेको छैन’ शिर्षकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व आफ्नो भएको बताएकी हुन्।
कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताले बैठकमा सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनलगायत निर्णय गरी गरेको सिफारिसमा राष्ट्रपतिले कुनै परामर्शबिना सहीछाप लगाएको भन्दै उक्त प्रसंग उप्काएका थिए।
त्यस्तै आजदेखि हुने नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको कार्यकर्ता भेलामा नजान प्रधानमन्त्रीले दिएको चेतावनीलाई पनि अन्नपूर्णले पहिलो पेजमा छापेको छ । गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी छ ।
राजधानी दैनिकले पनि एमालेमा दोहोरी शिर्षकमा नेकपा एमालेकै किचलोबारे मुख्य खबर छापेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटगत भेलामा सहभागी हुनेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका हुन् । असन्तुष्ट पक्षले भने कारबाहीको धम्कीले आफूहरू नतर्सने बताउँदै पार्टीमा व्याप्त निरंकुशताविरुद्ध लड्दा आफूहरू लामबद्ध कारबाही भोग्न तयार रहेको बताएका छन् ।




