काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिबारे आफू चिन्तित रहेको उल्लेख गर्दै दलहरुसँग मिलेर अघि बढ्न आग्रह गरेकी थिइन्।
बैठकमा केपी ओलीले देश नयाँ जनादेशमा जानुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले फेरि चुनावको प्रसंग निकालेपछि नेताहरु चकित परेका थिए। बैठकमा कतिपय नेताहरुले ओलीको भनाइप्रति आपत्ति जनाएका थिए। पछि ओली र नेताहरुबीच आरोप प्रत्यारोप पनि भएको थियो।
बैठकमा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी भएनन् । त्यस्तै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएनन्।




