राजनीति

ओलीको चियापान खल्लो, उपस्थित सबैको अनुहार अँध्यारो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केन्द्रीय सदस्यहरूलाई दिएको चियापान समारोह बहुमत नेता कार्यकर्ताले बहिष्कार गरेपछि खल्लो बनेको छ । एमालेका माधव नेपाल–झलनाथ खनाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलालाई असफल तुल्याउन आज प्रधानमन्त्री ओलीले बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरेका थिए । तर, चियापानमा नेपाल, खनाल, बामदेव गौतमलगायतका नेताहरू अनुपस्थित थिए। धेरै नेता कार्यकर्ताले ओलीको चियापान नै बहिस्कार गरेका थिए।

चियापानमा चियाकफी, कोल्ड ड्रिंक, कालाजामुन, फ्रुट्स, फिस फ्राई, भेज स्यान्डविच, बोइल्ड भेज, कटलेटलगायतका परिकार थिए। चियापानको व्यवस्थापनको जिम्मा कार्की क्याटरिङलाई दिइएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको चियापान समारोह तामझाम हुनुपर्ने, नेताहरूको अनुहार हँसिलो हुनुपर्ने हो । तर, अधिकांश सांसद र केन्द्रीय सदस्यहरूको अनुहार अँध्यारो थियो ।

चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका नेता कार्यक्रमलाई कारबाही गर्ने चेतावनी दिए । बुधबार र बिहीबार माधव नेपाल पक्षले गरेको कार्यकर्ता भेलामा गए एमाले नेता कार्यकर्तालाई कारबाही गर्ने धम्की दिएका हुन् । माधव नेपाल पक्षले बोलाएको भेलामा जानेलाई पार्टी नीति र विधानअनुसार कारबाही गर्ने चेतावनी ओलीले दिए ।

‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन, नजान त्यस्ता भेलामा सहभागी नहुने म नेता कार्यकर्तालाइ सचेत गराउँछु,’ ओलीले भने ।

ओलीले संविधानको कार्यान्वयन हुन सभामुख सेटिङमा चलेको आरोप लगाए । उनले एसिड आक्रमण गर्ने विषयको अध्यादेश पेस गर्न पनि नदिएको दावी गरे । चियापान कार्यक्रममा ओली पक्षीय नेता तथा कार्यकर्ताको मात्र उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *