काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी ओलीलाई सरकार र पार्टीमै संकट आइलागेपछि राष्ट्रपति भण्डारीमा चिन्ता देखिएको छ ।
हुन त राष्ट्रपति भण्डारी अहिलेसम्म देशको अभिभावक होइन, एमालेमा पनि केपी ओली गुटको मात्र राष्ट्रपति बनेको आमजनताले महसुस गरेकी छन् । केपी ओलीका सनकपूर्ण निर्णयलाई लालमोहर लगाउनकै लागि हतारिने राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउने नैतिकता पहिल्यै गुमाइसकेकी छन्।
पुस ५ गते प्रधानमन्त्री ओलीले सनककै भरमा प्रतिनिधिसभा विघटन गर्दा आधा घन्टामै राष्ट्रपतिले स्वीकृत गरेकी थिइन् । उनले राजनीतिक दलका नेताहरूसँग परामर्शसमेत गर्न चाहिनन् । त्यति मात्र होइन, कान्न व्यवसायीसँग पनि राय सुझाव लिइनन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने हो । तर, त्यो नैतिकता दुवैले देखाउन सकेनन् । अहिले ओली चौतर्फी संकटमा परेका छन् ।
ओलीलाई पार्टी र सरकारमै असहज भएपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनको कुनै औचित्य नभएको भन्दै व्यापक आलोचना भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलमाथि सर्वदलीय बैठक बहिष्कार गर्नुपर्ने दबाब बढेको छ ।




