आजको पत्रपत्रिकामा हिजो धुम्बाराहिमा ओली र नेपाल पक्षको वार्ताबारे प्राथमिकताको साथ समाचार छापिएका छन् भने अन्य खबरले पनि स्थान पाएका छन् ।
राजधानी दैनिकले संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषमा दोहन शिर्षकमा मुख्य खबर छापेको छ। दोहोरो सुविधा लिएर राज्यकोषको ढुकुटी रित्याउने काममा संलग्न संवैधानिक निकायका उच्चपदस्थ व्यक्तिमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, लोकसेवा आयोगकै सदस्य वृन्दा हाडा, आयोगकै पूर्वअध्यक्ष कंयोदेवी यामी, आयोगकै पूर्वसदस्य टीकादत्त निरौला, शिक्षा सेवा आयोगका अध्यक्ष ताना गौतम, वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी, निर्वाचन आयोगका आयुक्तद्वय ईश्वरी पौडेल र नरेन्द्र दाहाल रहेको राजधानी दैनिकले लेखेको छ ।
त्यस्तै दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल शिर्षकमा राष्ट्रपतिले आह्वान गरेको सवैदलीय बैठकबारे खबर छ । यो खबर आजको सबै पत्रिकामा छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनितिक दललाई छलफलको लागि आह्वान गरेकि छिन् ।
‘अल्पमतमा पर्ने गल्ती गर्दिनँ अब’ शिर्षकमा अन्नपूर्ण पोस्ट्ले मुख्य खबर छापेको छ । आन्तरिक कलह उत्कर्षमा पुगेपछि झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार झन्डै बहुमतमा झर्यो। नेकपा फुटेर चिरा–चिरा भयो। अन्त्यमा नाम खोसिएर साविक एमाले र माओवादी केन्द्र निर्माण भए। प्रधानमन्त्री केपी शर्मा ओली यो अवस्था आउनुमा आफ्नो मुख्य गल्ती ‘अरूको बहुमत बनाइदिनु’ रहेको ठान्छन्। त्यसैले उनी अब भने अल्पमतमा पर्ने गल्ती नगर्ने निचोडमा पुगेका छन्।
त्यस्तै नागरिक दैनिकले हिजो ओली नेपाल वार्ताबारे खबर छापेको छ । लामो समयपछि एक अर्काको आमनेसामने भएका केपी शमौ ओली र माधवकुमार नेपाल समूहबीचको वार्ता निष्कर्षविहिन भएको थियो ।




