राजनीति

संसद चलाउने मानसिकतामा सत्तापक्ष छैनः प्रमुख सचेतक खाँड

काठमाडौं । सत्तारुढ दल संसद अघि बढाउने मानसिकतामा नरहेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले लगाएका छन् । सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने पक्षमा नरहेको बताएका हुन् ।

मंगलबार संसदको बैठक बस्ने भए पनि सरकारले हालसम्म कुनै पनि बिजनेश नदिएको खाँड भनाई थियो । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भए पनि ती अध्यादेशबारे समेत सरकार गम्भीर नभएको उनले बताए ।

खाँडले भने– ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडी बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले बिगतमा पनि बजेट सेशनमा अस्वभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै बिघटन गर्नुभो । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन । कुनै कार्यसूची छैन ।’

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए । ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो, खाँडले भने, ‘भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि अरुची रह्यो ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *