रिबन

धुम्बाराहीमा ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । एमाले विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीच धुम्बाराहीमा भेटवार्ता सुरु भएको छ । पार्टी विभाजनको तीन महिनापछि ओलीसँग वरिष्ठ नेता नेपालले भेटवार्ता गरेका हुन् ।

दुवै समूहबीच तिक्तता बढेकै बेला ओलीले नेपालसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्। त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका छन्।

तिक्तताकै बीचमा चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षले फागुन २८ गते ओलीले बालुवाटारमा गरेको निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने अडान राखेको छ ।

ओली पक्षको निर्णयको विरुद्धमा आक्रामक प्रतिवादमा उत्रिने भन्दै नेपाल पक्षले चैत ४ र ७ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । तर, ओलीले भने एक कदम पछि हटेर चैत ३ मै नेपाल र खनालसहितलाई समेट्ने गरी चियापानको तयारी गरेका छन् । आजको भेटवार्तापछि ओलीले बोलाएको चियापानमा जाने कि नजाने भन्ने टुंगो लाग्नेछ ।

शुक्रबार ओलीले एकपक्षीय रुपमा पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि नेपाल पक्ष रुष्ट देखिन्छ । ओलीको निर्णयलाई चुनौती दिँदै नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ । दुई पक्षबीच तिक्तता बढिरहेका बेला आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *