काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा विघटनको दोष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगाएका छन् । उनले पार्टी एकीकरणपछिको संयुक्त पार्टी नेकपाको जेट विमान प्रचण्ड र आफूले हाँके पनि प्रचण्डले बीचैमा सिटबाट फाल हानेको बताएका छन् ।
आइतावार राति प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले नेकपाको जेट विमान हाँकिरहेको भए पनि ल्यान्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेको बताएका हुन् ।
‘हाँकिन्जेल हाँक्या हो। ल्यान्ड गर्न पाएको छैन, ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ ?,’ ओलीले भने।
अन्तर्वार्तामा ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको पनि बताउँदै आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारे । उनले आफूलाई मन नपराउनेहरुले नै समर्थन फिर्ता नगरेर माया गरिरहेको बताउँदै आफ्नो लोकप्रियता कति धेरै छ भन्ने विषय प्रमाणित भएको उल्लेख गरे । ‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ ओलीले भने।




