रिबन

सरकार अल्पमतमा र एमाले फुटको संघारमा पुगेपछि प्रधानमन्त्री पुगे शीतल निवास

काठमाडौं । सत्तारुढ एमालेमा विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले एकलौटी पार्टी चलाउन थालेपछि माधवकुमार नेपाल, झलनाथ खनाल समूहले समानान्तर संगठन बनाउने निर्णय गरिसकेका छन् ।

बुधबार माधव–झलनाथ समूहले राष्ट्रिय सम्मेलन बोलाएको छ । सम्भवतः त्यसै दिनदेखि एमाले औपचारिक रूपमा विभाजन हुने बताइएको छ । पार्टी र सरकार दुवै संकटमा परेपछि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार करिब डेढ घण्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भनेको यो भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।

आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओलीले राष्ट्रपतिलाई भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

माधव नेपाल, झलनाथ खनालले माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै प्रचण्डसँग भेटेर वाम एकताको प्रयास गरेको खबर पाएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *