काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएकै मिति भदौ पहिलो साता हुने स्पष्ट पारेका छन् । संस्थापनइतर समूहले १४औं महाधिवेशन फागुनमा हुन नसकेकोमा असन्तुष्टि जनाइरहेका बेला सभापति देउवाले अब आउने भदौ पहिलो साता महाधिवेशन हुने स्पष्ट पारेका हुन् ।
आइतबार बाराको पचराैता नगरपालिका -५, देल्दारीमा नेपाली कांग्रेस खेलकुद विभागद्वारा आयोजित खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रय कुस्ति प्रतियोगिताको उदघाटन गर्ने क्रममा सभापति देउवाले पार्टीको महाधिवेशनबाट जसले जिते पनि त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । उनले महाधिवेशनमार्फत कांग्रेस नै नेतृत्वमा आउने भएकाले कसैलाई भेदभाव नगर्न आग्रह पनि गरे ।
मुलुकको अहिलेको राजनीति निकै तरल अवस्थामा रहेको भन्दै देउवाले कांग्रेसले जिम्मेवार भएर अबको निकास निकाल्ने पनि बताए । सत्ता समीकरणको प्रयास तीव्र भइरहेको भन्दै देउवाले आफू तुरुन्तै काठमाडौं जानुपर्ने भएकाले छोटो मन्तव्य दिएका थिए ।
कांग्रेसको खेलकुद विभाग प्रमुख तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले खेलकुदमार्फत परिवर्तन र विकास गर्नसकिने बताए । उनले विभाग गठन भएको छोटो समयमै खेलकुद विभागले देशभर कांग्रेसको पक्षमा माहोल सिर्जना गरेको पनि उल्लेख गरे ।





