राजनीति

एमाले ब्यूँतिएपछि प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकता खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएका छन् । एमाले र माओवादी मिलेर एकता भई नेकपा बनेपछि यी दुवै दलका ६७ सांसद थिए ।

प्रदेश १ मा ९३ जना सदस्यहरु रहेको प्रदेश सभा गठन भएको छ । जसमा एमालेको ५१, नेपाली काँग्रेसको २१, माओवादी केन्द्रका १६, जनता समाजवादी पार्टीको ३ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीको एबजना सदस्यको प्रतिनिधित्व रहेको छ ।

प्रदेश १ मा एमाले ५१ जना प्रदेशसभा सदस्यसहित सुविधाजनक बहुमतमा छ। त्यसैले प्रदेशका मुख्यमन्त्री शेरधन राईको पद अहिलेसम्मका लागि जोगिएको छ । प्रदेश सभा बैठक चैत २ गतेका लागि बोलाइएको थियो । तर, त्यसको अघिल्लो दिन प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

मुख्यमन्त्री राईविरुद्ध गत फागुन ९ गते संसदमा अविश्वासको प्रस्ताव टेबुल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि मुख्यमन्त्री राईले आफ्नो कुर्सी जोगिएको भन्दै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाएका हुन् ।

एमालेभित्रै पनि विवाद छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध माधवकुमार नेपाल–झलनाथ खनाल समूहले विद्रोह गरेर अर्को पार्टी गठन गरे वा अविश्वासको प्रस्तावमा फ्लोर क्रस गरे राईको पद जुनसुकै बेला धरापमा पर्ने अवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *