आजका पत्रपत्रिकामा शनिबार दिनभर भएका राजनितिक घटनाक्रमले पहिलो प्राथमिकता पाएका छन् । भने अन्य समसामायिक विषयबस्तुले पनि स्थान पाएका छन् ।
नागरिक दैनिकले नेपालीको आयबारे चासो दिएको छ । नेपालीको बचत क्षमतामा ह्रासः सरदरमा एक सय कमाउँदा ९१ रुपैयाँ खर्च शिर्षकमा समाचार छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९र२० मा सरदरमा नेपालीले आम्दानीको ९१।१ प्रतिशत उपभोगमा खर्च गरेका छन्।
त्यस्तै जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं शिर्षकमा अर्को समाचार छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसपालाई आफूतिर ल्याउन यस्तो प्रस्ताव गरेका हुन् ।
अन्नपूर्ण पोस्ट्ले नेपाल खेमाको समानान्तर अभ्यास शिर्षकमा खबर छापेको छ ।
सत्तारूढ दल एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर अभ्यास थालेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले विभाग र प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेपछि आक्रोशित नेपाल–खनाल समूहले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
खुट्टी देखेरै पत्याइयो उपशिर्षकमा अर्को समाचार छ । नेपाल पक्षमाथि प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका छन् । ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं। केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको। खुट्टी देखेरै पत्याइयो’, प्रधानमन्त्री ओलीले अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै भने, ‘काम गर्न, पार्टी बनाउन आउनुस्। केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ।’




