काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान तरल राजनीतिक अवस्थाको नेपाली कांग्रेसले सुष्म विश्लेषण गरिरहेको बताए । पार्टी कार्यालयमा शनिबार नेपाली कांग्रेस महिला विभागले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, देशको राजनीति अत्यन्तै तरल अवस्थामा छ, यस्तो अवस्थामा नेपाली कांग्रेसले लोभ र हतार गर्नु हुँदैन, आइप-यो भने जिम्मेवारीबाट भाग्नु पनि हुँदैन ।
उनले भने, – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र, परिस्थिति प-यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’
देशको राजनीति अत्यन्तै तरल अवस्थामा छ, यस्तो अवस्थामा नेपाली कांग्रेसले लोभ र हतार गर्नु हुँदैन, आइप-यो भने जिम्मेवारीबाट भाग्नु पनि हुँदैन ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताए । कम्युनिष्टहरु प्रजातन्त्रको खिलाफमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

सभापति देउवाले भने, – ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । ओली सरकार प्रजातान्त्रिक संस्कार नभएको पार्टी हो । कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर आफु सत्तामा बसिरहने कुरा छ । कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ ।’
सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले महिला मतदातालाई नेपाली कांग्रेसमा आकर्षित गराउनुपर्नेमा जोड दिए ।




