रिबन

सत्ता टिकाइदिन जसपासँग हारगुहार गर्दैै ओली

काठमाडौं । नेकपामा विवाद चर्किएर दुई गुट बनेका बेला प्रचण्ड–माधव नेपाललगायतका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि पुग्दा प्रधानमन्त्री केपी ओली खिसिट्युरी गर्थे । प्रधानमन्त्री बनिदिनुपर्यो भनेर किस्तीमा लिएर प्रचण्ड र माधव बुढानिलकण्ठ पुगे भनेर उडाउने गर्थे । कम्युनिस्ट नेतृत्वको सरकार ढाल्न लागे भनेर आलोचना गर्थे ।

तर, अहिले तिनै ओली मधेसी नेतासँग चार पाँच दिनदेखि दैलोमा कटोरा लिएर सत्ता बचाउको भीख मागेको देख्दा जोकसैले राजनीति भनेको अजीव हुन्छ भन्न थालेका छन् ।

कुनैबेला प्रधानमन्त्री ओली राजेन्द्र महतोलगायतका मधेसी नेताहरुलाई यूपी विहारको भन्दै हेप्ने गर्थे । संविधान लेख्ने बेला र भारतीय नाकाबन्दीका बेला मधेसीलाई कुनै अधिकार र पहिचान दिनुहुन्न भन्दै अपमानजनक शब्द प्रयोग गर्थे ।

कतिसम्म भने घरको आँगन सम्म देखियो भने त्यसलाई पनि मधेस भनिदिने भन्दै मधेसी नेताको सेखी झार्थे । मधेसी जनतालाई अधिकार दिनुपर्ला भनेर हतार हतार संविधान जारी गर्ने ओली अहिले तिनै मधेस केन्द्रित दलका नेतासँग आफ्नो सत्ता जोगाइदिन हारगुहार गरिरहेका छन् ।

प्रधानमन्त्रीको कुर्सी जोगाउन अहिले तिनै ओली हत्या अभियोगमा अदालतले नै जन्मकैद सजाय तोकेका रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्नसमेत तयार देखिएका छन् । संविधान संशोधनको आश्वासन दिएका छन् । जसपालाई सरकारमा सहभागी भइदिन ओलीले भारतीय च्यानल प्रयोग गरिरहेका छन् ।

सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने जसपाका नेताले बताएका छन्। बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *