कोशी प्रदेश

दोभानका आगलागी पीडितलाई पूर्वमन्त्री बस्नेतद्वारा सहयोग

ताप्लेजुङ । पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन ।    
    
बिहीबार आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन । उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन ।    
आगलागीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट समेत रु छ लाख सहयोग प्रदान हुने जानकारी दिए । राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।    
    
यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए । भूकम्प, बाढी पहिरो, आगलागी जस्ता घटनाबाट पीडित बनेकालाई सहयोग गर्दै आएका नेता बस्नेतले दोभानका आगलागी पीडित परिवारको दिगो व्यवस्थापन तथा पुनःस्थापनामा गम्भीर हुन सरकारसँग आग्रहसमेत गरे ।    
    
यता सोही कार्यक्रमका बीच कांग्रेस आबद्ध लोकतान्त्रिक खेलकूद विभागले रु ७५ हजार र इलामको माइभ्याली फुटबल क्लबले रु ५० हजार आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ । दुवै संस्थाले गाउँपालिकामार्फत सहयोग प्रदान गरेका हुन् ।    
    
गएको फागुन १८ गते भएको आगलागीले दोभान बजारका ५० घर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित बनेका थिए । विस्थापित परिवार अहिले आगलागी क्षेत्रमा नै टेण्ट टाँगेर बसेका छन् ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *