काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । एमालेको पुनः संरचनाबारे छलफल गर्न बसेको नेपाल पक्ष अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन जुटेका छन् ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र व्यूँताइ दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरु झलनाथ खनाल–माधवकुमार नेपालबीच भेट भएको छैन ।
नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बसेको हो । नेकपा एमालेको स्थायी कमिटीमा भने नेपाल पक्षको बहुमत छ । नेपाल पक्षका १२ स्थायी कमिटी सदस्य छन् । नेपाल पक्षमा झलनाथ खनाल र नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र रघुजी पन्त छन् ।
ओलीसँग ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल, विष्णु रिमाल र रघुवीर महासेठ छन् ।
माओवादीसँग एकता भएपछि ओलीतर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका थिए । वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन् ।




