काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।
स्रोतका अनुसार उक्त भेटमा सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ । जसपाका नेताहरुले आज (बुधबार) नै नेकपा एमालेका नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।
नेता महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।




