काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरूसँग फेस गर्न प्रधानमन्त्री केपी ओलीलाई निकै सकस भएको छ । आज पनि प्रतिनिधिसभा बैठकमा नबसी ओली बाहिरिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् । उनी पौने १ बजे नै संसद् भवन पुगेका थिए । तर, समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।
बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।
२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेका थिए । तर, बैठक बस्न ढिलाइ भएपछि उनी हिँडेका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने र निधन भएका पूर्वसांसदहरूको सम्झनामा शोक प्रस्ताव गर्ने कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री ओली एमालेका अध्यक्ष पनि हुन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि उनले दलको नेताको रूपमा सम्बोधन गर्नुपर्ने हो । तर, ओली हिँडेकाले कसले सम्बोधन गर्ने भन्ने पछि तय हुनेछ ।
तर, राजनीतिक विश्लेषकहरू आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग फेस गर्न गाह्रो भएकाले ओली बैठक बस्न ढिलो भएको बहाना बनाएर निस्किएको आशंका गर्छन् । आफैंले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा पनि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हो । तर, ओलीले नैतिकता देखाउन सकेका छैनन् ।





