आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । सबै पत्रिकामा वर्तमान राजनितिक अवस्थाबारे टिप्पणी र विश्लेषणले स्थान पाएका छन् भने अबको राजनितिक बाटोबारे पनि छलफल गरिएको छ ।
अन्नपूर्ण पोस्ट्ले अदालतको पछिल्लो निर्णयले ओली झन् शक्तिशाली भएको विश्लेषण गरेको छ भने अब सत्ता समीकरण कस्तो ? शिर्षकमा अर्को मुख्य खबर छ । सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्। तर, माओवादी केन्द्रको मंगलबार बसेको बैठकले विश्वासको मत फिर्ता लिनेरनलिने विषयमा कुनै निर्णय गरेन।
बरु उक्त पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन, सरकार गठन र आगामी राजनीतिक प्रक्रियाका विषयमा कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०सँग छलफल गर्ने निर्णय गरेको छ।
नागरिक देनिकले पारिवारिक झगडामा कर्णालीमा हेलिएर एकैघरका पाँचजनाले आत्महत्या गरेको खबरलाई पहिलो पेजमा छापेको छ । यो खबरलाई अन्य पत्रिकाले पनि प्राथमिकताको साथ छापेको छ । दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उहाँका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
त्यस्तै निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर भएको जानकारी गराउँदै अब फेरि मिल्ने भए १५ दिनभित्र आयोगमा आवश्यक कागजातसहित उपस्थित हुन गरेको निर्देशनलाई पनि सबै पत्रिकाले स्थान दिएका छन् ।
कोभ्याक्सको थप खोप जेठमा शिर्षकमा नागरिक देनिक लेख्छ, कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा। श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ। कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।




