काठमाडौं । सरकार गठनलगायत विविध विषयमा छलफल गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त कार्यदल बनाएका छन्। कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।
रेशमलाल चौधरीको मुद्दा फिर्ता लिनेलगायतको विषयमा छलफल गर्न कार्यदल बनेको जानकारी जसपा सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । उक्त कार्यदलको प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ। सरकार गठनजस्ता विषयमा भने कार्यदलमा छलफल नहुने कर्णले दाबी गरे ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक–फरक छन् । केपी शर्मा ओलीलाई बहुमत पुर्याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्। सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।




