राजनीति

एमाले र माओवादी केन्द्र एकीकृत हुने भए निर्वाचन आयोगको १५ दिने समयसीमा

काठमाडौं । नयाँ दल बनाउने हो भने १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित आउन नेकपा एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगको मंगलबार बसेको बैठकले एकीकृत दलको रुपमा रहन चाहे १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित उपस्थित हुन आग्रह गरेको हो ।

सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज भैसकेको छ । फैसलाले एकीकृत पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आइसकेका छन् ।

निर्वाचन आयोगको निर्णयमा भनिएको छ, ‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ।

आयोगले सर्वोच्चको आदेशअनुसार नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई खारेज गरेको छ । दर्ता नम्वर १४५ मा रहेको नेकपा खारेज गरेको विषयको जानकारी सो दलका अध्यक्ष रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय समेत आयोगले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *