काठमाडौं । सर्वोच्च अदालतको आइतबारको फैसलाले सबैभन्दा ठूलो घाटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको छ । एमाले बराबरी हैसियत पाउन पार्टी एकता गरेर नेकपाको अध्यक्ष बनेका प्रचण्डले सर्वोच्चको फैसलापछि फेरि माओवादी केन्द्रलाई अघि बढाउनुपर्ने भएको छ ।
माधवकुमार नेपाल, झलनाथ खनाललगायत सबै एमालेमै फर्के पनि माओवादी केन्द्रले भने आफ्ना आधा दर्जन नेता गुमाउने भएको छ । जसमा गृहमन्त्री रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा लामालगायतका नेता छन्।
तिनै माओवादी केन्द्रका नेताहरूसँग प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा भेटवार्ता गरेका छन् । उनीहरूलाई एमालेमै राख्ने गरी छलफल भएको बुझिएको छ ।
खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि एमालेमै रहने बताइसकेका छन् । ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’
माओवादी केन्द्रबाट एमालेमा समाहित हुँदा सांसदहरुमाथि प्रचण्डले कारवाही गरे कानुनी अवस्था के हुनसक्छ भन्नेबारेमा पनि छलफल चलिरहेको छ।




