राजनीति

जसपा ओली सरकारमा जाला ? पहिलोपटक आज संसदीय दलको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेपालको राजनीति फेरि अस्थिर बन्ने संकेत देखिएको छ । आफूले भंग गरेको प्रतिनिधिसभा सर्वोच्चले बदर गरिदिएपछि नैतिक र राजनीतिक आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्री केपी ओली भने जसरी पनि सरकारमै बस्न चाहेका छन् ।

सर्वोच्चको पछिल्लो फैसलासँगै एमाले ठूलो दल बनेको छ । कांग्रेस प्रमुख प्रतिपक्ष र माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ । तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर बनेको जसपा चौथो स्थानमा झरेको छ । ओली सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीले त्यसको पनि तयारी गरिसकेका छन् ।

यसैक्रममा जसपा नेपालको पहिलो संसदीय दलको बैठक आज बस्दै छ। दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक यसअघि बसेको थिएन।

मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल हुने जसपाका नेता राजेन्द्र महतोले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बनमा छन्।

यदि माओवादी केन्द्रले समर्थन लिएमा र कांग्रेसले सरकारमा नजाने निर्णय गरेमा ओलीका लागि जसपा नै सञ्जीवनी बुटी सावित हुनेछ । त्यही भएर ओलीले भारतीय संस्थापन पक्षलाई दबाब दिएर जसपालाई सरकारमा सामेल गर्ने वातावरण बनाइरहेका छन् । अब ओली सरकारमा सामेल हुने विषयमा चाँडै जसपामा भाँडभैलो मच्चिने र पार्टी विभाजनसम्मका अवस्था आउने स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *