राजनीति

दाहाल–नेपाल समूहद्वारा ओली, नेम्वाङ र चौधरीलाई दलबाट हटाएको संसदलाई जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई दलबाट हटाएको जानकारी संसद सचिवालयलाई दिएको छ ।

हिजो बुधबार बसेको केन्द्रीय कमिटिले गरेको निर्णय भन्दै दाहाल–नेपाल समूहले संसद सचिवालयलाई जानकारी गराएको हो । नेकपाको एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने शृंखला चलिरहेका बेला दाहाल–नेपाल समुहले बुधबार बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे संसद सचिवालयलाई जानकारी दिएको हो ।

निर्णयबारे सचिवालयलाई अध्यक्ष प्रचण्डको पत्र बुझाइएको हो। दाहाल–नेपाल पक्षका नेताहरुले बिहीबार संसद सचिवालय सिंहदरबारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराईसहितका सांसदलाई गरिएको कारबाहीबारे जानकारी गराएको छ ।

दाहाल नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले संसदीय दलको उपनेताबाट नेम्वाङलाई ३ दिनभित्र राजीनामा दिन निर्देशन दिएको थियो भने देव गुरुङलाई हटाएर अध्यक्ष केपी ओलीले प्रमुख सचेतक नियुक्त गरेका विशाल भट्टराईलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको थियो।

बैठकले ओली पक्षमा लागेकी सचेतक शान्ता चौधरी, मन्त्रीसमेत रहेका सांसद प्रभु शाह र महेश बस्नेतलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। दाहाल–नेपाल पक्षको निर्णय संसदसँग पनि जोडिएकाले औपचारिक रुपमा जानकारी गराइएको एक नेताले जानकारी दिए।

दाहाल–नेपाल पक्षको बैठकले केन्द्रीय सदस्य सूर्य थापा र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा छ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय पनि गरेको थियो। गत शुक्रबार ओलीले गुरुङलाई हटाएर भट्टराई नियुक्त गरेको औपचारिक जानकारी सचिवालयलाई गराएका थिए।

सो समुहको केन्द्रीय कमिटीको बैठकबारे जानकारी गराउन नेताहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङलगायतका नेताहरु सिंहदरबार पुगेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *