काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । परिचयपत्र र नागरिकतासहित पार्टी कार्यालय पेरिसडाडाँमा भोलि बुधबार अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । केन्द्रीय सदस्यहरुलाई दिउँसो १ बजे उपस्थित हुन खबर गरिएको हो ।
दाहाल–नेपाल समुहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेपछि केन्द्रीय सदस्यहरुलाई राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।
हिजो सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको एक नेताले बताए ।
पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।
केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ ।




