काठमाडौं । प्रतिनिधिसभा बैठक आह्वान भएसँगै सत्तारुढ नेकपामा सांसद आफूतिर तान्ने प्रयास सुरु भएको छ । नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले यसको अगुवाइ गरेका छन् ।
लकडाउनका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरणशैलीमा काठमाडौं ल्याएका बस्नेतले प्रधानमन्त्री केपी ओलीसँग निकट हुन चाहेका सांसदहरूले आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
सरकारका मन्त्री प्रदीप ज्ञवाली तथा नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सांसद किन्ने प्रयास भइरहेको बताएका बेला महेश बस्नेतले आफूसँग सम्पर्क गर्न सकिने बताउनुले नेकपा ओली समूह सत्तामा रहन जुनसुकै हथकण्डा अपनाउन तयार छ भन्ने सन्देश गएको छ ।
मंगलबार बिहान एक अनलाइनसँग अन्तर्वार्ता दिँदै महेश बस्नेतले भनेका छन्– ‘प्रधानमन्त्रीसँग म निकट छु र कुनै पनि परिस्थिति आइपरे महेशले ह्याण्डल गर्न सक्छ भन्ने परेको छ। प्रधानमन्त्रीले खटाउनेभन्दा पनि प्रधानमन्त्रीसँग निकट हुन चाहेका सांसदहरूले मसँग सम्पर्क गर्ने स्थिति छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । नेकपामा विवाद कायमै रहेका बेला संसद् आह्वान भएकाले अब संसदमै पार्टी झगडा देखिने भएको छ ।




