काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्रीय कमिटीको बैठक ०७७ फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको छ । नेता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको थियो ।
आयोगले नेकपा विवाद टुंगो लगाउन उदासीनता देखाएपछि नेकपा प्रचण्ड–माधव समूह असन्तुष्ट । आयोगले ढिलाइ गर्दै अन्तिममा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई आधिकारिकता दिन सक्ने आशंका सो समूहले गरेको छ ।
आयोगले माघ २० गते नेकपा प्रचण्ड–माधव समूहले पेस गरेको कागजात पनि कानुनसम्मत नभएको ठहर गर्दै फेरि बुझाउन निर्देशन दिएको छ । यही ढंगले काम गर्दै गएमा नेकपा विवाद टुंगो लाग्न थप ७० दिन लाग्ने आयोगको अनुमान छ । आयोगको ढिलाइका कारण अब बस्ने प्रतिनिधिसभा बैठकमा असर देखिने सम्भावना बढी छ ।




