रिबन

नेकपा ऋषि कट्टेलले लगे ओली र प्रचण्डलाई झन् संकट

काठमाडौं । मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राखेका थिए । सो पार्टीको नामको विषयमा अहिले निर्वाचन आयोगमा मुद्दा विचाराधीन छ ।

दुई पार्टी एकिकरण भएपछि गरिएको नामकरणको विषयमा त्यतिबेलै ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । अहिले ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दाको फैसला यही फागुन २० गते गरिने सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले आफ्नो पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को नामसँग मिल्ने गरी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’को नामलाई आधिकारिकता दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो । नेकपा विभाजनको अवस्थामा आउन लागेको सर्वोच्चको फैसलालाई अर्थपूर्ण मानिएको छ । अब सो पार्टीको नाम कट्टेल नेतृत्वको नेकपाले पाए वर्तमान सरकारमा रहेको पार्टीले अर्को नाम पेश गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कुन नाम लिएर जाने भन्ने बारेमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सकस पर्ने बताइएको छ ।

अहिले दुवै समूह राजनीतिक रुपमा विभाजन भइसकेको र कानुनी रुपमा विभाजन नभएको अवस्थामा सर्वोच्च अदालतले पार्टीको नाममा फैसला कट्टेल नेतृत्वको पक्षमा भए त्यसपछि पार्टी विवाद भने सुल्झिने बताइएको छ । तर, फागुन २० गते कस्तो फैसला आउँछ भन्ने कसैलाई थाहा छैन । नाम फेरेर आउनु भनेमा के गर्ने भन्ने समस्या थपिने भएको छ । किनकि अहिले ओली र प्रचण्डबीच बोलचाल बन्द छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *