काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद नटुंगिएसम्म भावी सरकार बारे कुनै निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेता डा. प्रकाशशरण महतले भने, ‘कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनःस्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’
‘कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनःस्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’
उनले नेकपाका दाहाल–नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको डा. महतले बताए ।
त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग–अलग पार्टी नै बन्ने निश्चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको बताए । उनले नेकपा विभाजनको दिशा अगाडि बढेमा छुट्टै बैठक बसेर धारणा बनाउने बताए । नेकपा कुन आधिकारिकता भन्ने विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदैछ ।




