काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सत्ता समीकरणको ध्रुवीकरण सुरु भएको छ । नेकपा प्रचण्ड–माधव समूहले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जसपासँग छलफल सुरु गरिसकेको छ ।
तर, नेकपा ओली समूहले भने कम्युनिस्टको सरकार हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउन लागेको भन्दै सांसदलाई विद्रोहमा उतार्ने तयारी गरेको छ । जसको सुरुवात वामदेव गौतम र लालबाबु पण्डितबाट सुरु भएको छ ।
वामदेव गौतम अहिलेसम्म ओली र प्रचण्ड–माधव समूह कतै पनि लागेका छैनन् । उनी पार्टी एकता गर्नुपर्छ भनेर हिँडेका छन् । वामदेवकी श्रीमती तुलसा थापा अहिलेसम्म तठस्थ बसेको बताइए पनि झुकाव ओली समूहतिरै छ । वामदेव पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन हुन्न भनेर लागेका छन् । उनी बिहीबार बिहानै प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
पण्डित पनि कतै खुलेका छैनन् । उनले आफ्नी छोरीलाई ओली अनेरास्ववियुको केन्द्रीय सदस्य बनाउन निकै जोडबल गरेका छन् । ओलीले आफूलाई मन्त्रीबाट बर्खास्त गरे पनि पण्डित भने अझै पनि ओलीलाई नै साथ दिनुपर्छ भनेर लागेका छन् । उनी ओली र प्रचण्ड–माधव समूह कतैको आमसभामा पनि उपस्थित भएका छैनन् ।
पूर्वमन्त्री पण्डितले कांग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताएका छन् । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितको तर्क छ । बिहीबार सामाजिक सञ्जालमा लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएका छन् ।
‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु,’ पण्डितले लेखेका छन् । नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उनको जिकिर छ ।




