काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि सामाग्री खरिद गर्न टेण्डर आह्वान गरेकै दिन सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदियो । सरकारले पुस पाँच गने प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीले मुलुक चुनावमा होमिएको भन्दै निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिने गरेका थिए ।
प्रधानमन्त्री आफैं आयोग पुगेर निर्वाचनको तयारीका बारे जानकारी पनि लिएका थिए । त्यसपछि आयोगले निर्वाचनको प्रकृया अघि सारेको थियो । संसद पुनस्थापना पछि भने आयोगलाई निर्वाचन गराउने प्रक्रियाबाट हाइसन्चो भएको छ ।
निर्वाचन आयोगले पनि निर्वाचनको तयारी तीव्र रुपमा हुँदै आएको बताउने गरेको थियो । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालका लागि निर्वाचन टरेको छ । तर आयोगले सामाग्री खरिद बाहेक हालसम्म खासै तयारी गरेको देखिएको थिएन ।
आयोगका अनुसार निर्वाचनकै लागि भनेर अहिलेसम्म कुनै पनि विषयमा अनावश्यक खर्च नभएको जनाएको छ । आयोगले हालसम्म कागजी प्रक्रियासँग सम्बन्धित काम मात्रै गरेको छ । केही दिन अगाडि निर्वाचन प्रयोजनका लागि भन्दै लाहालगायतका सामाग्री किन्न टेण्डर आह्वान गरेको थिया े। तर उक्त टेण्डर नोटिस रद्द गर्ने आयोगको तयारी छ ।
पुस ५ गते सरकारले निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचनका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन भएका कारण आयोगले ठूलो खर्च हुने तयारी गरेको थिएन । ‘मतदाता नामावली अद्याावधिक गर्नै पर्ने थियो । मतदान स्थलहरुको रिभ्यू गरेको छ। त्यो पनि गर्नै पथ्र्यो । खर्च भएर जाने, अनावश्यक खर्च केही पनि भएको छैन ,’ आयोग स्रोतले भन्यो ।
आयोगले अबको नियमित निर्वाचनको मिति पनि नजिकिँदै गएका कारण उक्त निर्वाचनमा प्रयोग हुने सामग्रीहरुको मात्र तयारी गरेको हो । अहिले गरिएको निर्वाचनको तयारीले अर्को निर्वाचनका लागि सहयोगी भएको आयोगको दावी छ । नियमित निर्वाचनको मिति पनि नजिकिँदै छ। अहिले जति पनि काम भयो त्यसले अर्को निर्वाचनका लागि सपोर्ट गरेको छ। सामान्यतः अर्को वर्ष नियमित निर्वाचन हुन्छ,’ आयोग स्रोतले भन्यो । आयोगका अनुसार अब निर्वाचनका लागि भन्दा पनि नेकपाको विवादमा आयोग अल्मलिने भएको छ ।




