काठमाडौं । नेपाली कांग्रेसकोे पदाधिकारी बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेसँगै अब बन्ने सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफलका लागि कांग्रेसको बैठक बस्न लागेको हो ।
बुधबार बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार बनाउन आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए । सत्ता सहकार्यका लागि प्रचण्ड र नेपालले प्रस्ताव गरेपछि सोही विषयमा छलफलका लागि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेसलाई नेकपा ओली समूहले पनि आफूहरुलाई सहयोग गर्न प्रस्ताव गरेको छ । नेकपाका दुवै समूहले कांग्रेस सभापति देउवालाई सरकार बनाउन प्रस्ताव गर्दै आएका छन् । ओली समूहले मन्त्रालय मात्र दिने, तर प्रचण्ड–माधव समूहले प्रधानमन्त्री नै दिने प्रस्ताव गरेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री हटाएर कांग्रेसलाई प्रधानमन्त्री दिन प्रचण्ड–माधव समूहले पार्टी विभाजन र आन्दोलन गरेको भन्दै ओली समूहले प्रचार गरेको छ । ओली समूहले कांग्रेसलाई सकेसम्म प्रधानमन्त्री नदिने रणनीति बनाएको छ । तर, यस विषयमा कांग्रेसले कस्तो निर्णय गर्छ ? पार्टी बैठकले नै निर्णय गर्ने भएको छ ।




