काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले भोलि बिहीबार पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भर्खर सम्पन्न भएको हो । केन्द्रीय समितिको बैठकअघि साझा धारणा बनाउन पार्टी सभापतिले पदाधिकारी बैठक डाक्ने परम्परा नेपाली कांग्रेसमा पुरानो हो । यद्यपि पार्टीले केन्द्रीय समितिको बैठक बोलाउने कुनै तयारी गरेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आज पार्टी सभापति देउवासँग भेट गरेका थिए । भेटमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । नेकपा नेताहरुले सहकार्यको प्रस्ताव राखेका थिए । सभापति देउवाले पार्टीमा साथीहरुसँग छलफल गरेपछि मात्र थप कुराकानी अघि बढाउने भनेर दाहाल र नेपाललाई बुढानीलकण्ठबाट बिदा गरेका थिए ।




