रिबन

सरकार र विप्लव समूहबीच वार्ता सुरु, वार्तास्थल गोप्य

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलोपटक वार्ता भएको छ । सरकारका एक मन्त्री र वार्ता टोलीका एक सदस्यवीच वार्ता भएको सरकारी स्रोतको दावी छ ।

थुनामा रहेका वार्ता टोलीका सदस्य चिरन पुनसँग सरकारी टोलीले वार्ता अघि बढाएको स्रोतको दावी छ । ‘एक मन्त्री र पुनवीच दुई घण्टा वार्ता भएको छ वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ,’ स्रोतले भन्यो ।

वार्ता सकारात्मक दिशामा अगाडि बढेको वार्तामा सहभागी एक प्रतिनिधिले जानकारी दिए । सरकारले हिँसात्मक गतिविधि गरेको गरेको भन्दै नेकपामाथि २०७५ फागुनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

विप्लव समूहले वार्ताका लागि प्रतिबन्ध फूकुवा गर्नुपर्ने शर्त अघि सारेको छ । विप्लव समूहले प्रकाण्ड, चिरन पुन र धर्मेन्द्र वास्तोला रहेको वार्ता समिति बनाएको छ । प्रतिबन्धको करिब दुई वर्षपछि सरकारले नेकपाका माग पूरा गर्दै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

वार्ता टोलीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य चिरन पुन र सरकारका एक मन्त्री रहेको बताइएको भएपनि उनीहरुबीच कसरी वार्ता प्रकृया अघि बढेको छ भन्ने बारेमा केही खुलाइएको छैन ।

विप्लव नेतृत्वको नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ताहलाई विनासर्त रिहा गर्नुपर्ने, राजनीतिक मुद्दा फिर्ता र आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राखेको छ । वार्तालगत्तै नेकपामाथि लागेको प्रतिवन्ध हटाउने सरकारको तयारी छ । प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले विप्लव नेकपालाई मूलधारमा आउन आग्रह गरेका थिए । शनिबार महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

प्रतिनिधिसभा विघटन गरेपछि आफ्ना विरोधीविरुद्ध आक्रमक बन्दै आएका प्रधानमन्त्री ओलीले विराटनगरको सभामा प्रतिबन्धित विप्लव समूहलाई वार्तामा ल्याएर निर्वाचनमा भाग लिन लगाउने बताएका थिए । सरकारसँग वार्तामा बस्न तयार भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने तयारी गरेकै अवस्थामा ओलीको सो अभिव्यक्ति सार्वजनिक भएको थियो ।

शनिबार विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी सरकारसँग वार्तामा बस्न सकारात्मक रहेको बताएका थिए । विप्लवले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सरकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओली पनि विप्लव नेतृत्वको नेकपालाई सेफ ल्याण्डिङ गराउने विषयमा केन्द्रीत देखिएका छन् । उनले नेकपालाई राजनीतिक मूल धारमा ल्याएर चुनावमा सहकार्य गर्ने मनस्थिति बनाएको स्रोतले जानकारी दियो । सरकारले नेकपासँगको वार्तालाई गोप्य राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *