काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित पार्टीको सभामा बोलेका अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेताहरूले विरोध जनाएका छन्। प्रम ओली सर्वोच्च अदालतले संसद् पुनस्थापना गरे देश अस्थिरतामा जाने र आफू आन्दोलनमा जाने बताएका थिए ।
‘चुनाव हुने निश्चित छ। म सबैलाई आत्मविश्वासी बन्न आग्रह गर्छु। यदि कुनै किसिमको जालझेल, सेटिङ, तिक्डम गरेर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसकाविरूद्ध फेरि पनि आन्दोलन हुनेछ,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
ओलीको भाषणपछि नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति प्रकट गरेका छन् । शनिबारै सामाजिक संजालमा उनले अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् भनेर आफनो धरणा राखेका छन् ।
उनले सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै बेला महाराजलाई पनि थियो भन्दै नेता थापाले स्मरण गराएका छन् ।
‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो।अदालतले विना भय संविधानसम्मत निर्णय गरोस्’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो।’ स्मरण रहोस्! सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त!’।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीको अभिव्यक्तिलाइ पदिय गरिमाविपरीत भएको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत अदालत दवावमा नपरोस् भन्ने तर चर्को दवावको अभिव्यक्ति राख्ने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।
शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमाविपरीत छ। न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।’




