रिबन

पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको आकस्मिक केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।

निर्वाचन आयोगले नेकपा विवाद टुंग्याउन आलटाल गरेपछि प्रचण्ड–नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन निर्देशन दिएको थियो । बैठकमा केन्द्रीय सदस्यबाट नागरिकता संकलन गरिँदैछ । सोही नागरिकता बोकेर प्रचण्ड–माधव समूह आयोग जाने भएको छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपामा विभाजन आइसकेको छ । तर, आयोगले नेकपाको आधिकारिकता ओली पक्षलाई दिन लागेको आशंका गर्दै प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर आयोग जान लागेको हो । आजै केन्द्रीय सदस्यको नागरिकता लाने भनिए पनि शुक्रबार चाँडै आयोग बन्द हुने भएकाले नभ्याइने बताइको छ ।

नेकपामा प्रचण्ड–माधव समूहले ४४१ केन्द्रीय कार्यसमितिमा बहुमत दुई सय ९१ केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गरेको छ ।

कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षले नेकपाको आधिकारिकता र सूर्य चिह्न दावी गरे पनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।
प्रचण्ड–नेपाल पक्ष प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालत समेत पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *