काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनआन्दोलनमार्फत एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।
दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।
२००७ को कार्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो ।
प्रजातन्त्रको लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए।
कांग्रेसको नेतृत्वमा भएका जनक्रान्तिबाट नै २००७ साल फागुन ७ गते जहाँनिया राणा शासनको अन्त्य भएको थियो । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।




