काठमाडाैं । आजका पत्रपत्रिकामा फरक फरक विषयमा समाचारहरु प्रकाशित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्धामा लिखित जवाफ लिएर अदालत पुगेकोबारे सबै पत्रिकाले खबर लेखेका छन् । त्यस्तै अदालतमा चलिरहेको प्रतिनिधि सभा विघटनको मुद्धामा एमीकस क्युरीको बहसबारे पनि समाचारहरु प्रकाशित छन् ।
पार्टीभित्रको विवादले अन्य दललाई दण्ड किन शिर्षकमा नागरिक दैनिकले लेखेको छ, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा जारी सुनुवाइमा सहभागी एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले पार्टीभित्रको विवाद देखाएर अन्य दलसमेत दण्डित हुनेगरी संसद् विघटन गर्न नहुने तर्क गरेका छन्। संविधानविद् पूर्णमान शाक्यले बिहीबार बहसमा भाग लिँदै पार्टीभित्रको झगडाले अन्य दलसमेत दण्डित हुनेगरी प्रतिनिधिसभा विघटन गर्न नपाइने तर्क गरेका हुन्। विघटनको अन्तरनिहित अधिकार प्रधानमन्त्रीलाई नभएकाले अदालतले संविधानअनुसार संसद् पुनस्र्थापना गर्नुपर्ने सुझावसमेत उनले दिए।
अदालतको अवहेलना गरेको छैनः प्रधानमन्त्री शिर्षकमा अर्को समाचार छ
सर्वोच्च अदालत पुगेर बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना नगरेको लिखित जवाफ पेस गरेका छन्। उनले आफूविरुद्धको निवेदन खारेजीको माग पनि गरेका छन्। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।
अन्नपूर्ण पोस्ट्ले पनि प्रधानमन्त्री अदालत पुगेकोबारे मुख्य खबर छापेको छ । लिखित जवाफमा ओलीले आफूपाँच दशकदेखि विधिको शासनमा प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको स्वरा गाउँ रत्तिएको खबरलाई अन्नपूर्णले पहिलो पेजमा छापेको छ । शहरमा आकर्षण बढेपछि गाउँ रित्तिन थालेका छन् ।
राजधानी दैनिकले फेरि ४७ लनख ५६ हजार मात्रा खोप नेपाल ल्याउने गृहकार्य सुरु गरेको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार अगामी साउनभित्र आमनागरिकलाई खोप लगाइने छ ।




