काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसँग पैसा धेरै नभएकाले ठूल्ठूला जुलुस निकाल्न नसकेको बताएका छन् ।
कांग्रेसको भ्रातृसंगठन नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले जुलुस निकालेर अदालतलाई यो गर, ऊ गर भन्न नहुने बताए । उनले प्रधानमन्त्री केपी ओलीले देशलाई ध्रुवीकरणमा लगेको आरोप लगाए ।
देश संसद पुनः स्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं,’ देउवाले भने । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।
‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’




